४ बैशाख , कञ्चनपुर – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक रहेको बताएका छन् ।
संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा बोल्दै थापाले बुटवलको सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि होइन भनेर प्रतिवादी नबनाएकाले त्यसले संसदीय छानबिनको आवश्यक थप बढेको बताए ।
“सरकारी वकिललाई प्रतिवेदन बुझाएको प्रहरीले सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा थाहा नभएकाले मैले प्रतिवादी बनाएर प्रतिवेदन दिन सकिनँ भन्यो,” थापाले भने, “सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने कुरा छुट्याउन सकिनँ भनेर प्रहरीले भनिसकेपछि त्यो खोज्नुपर्यो कि परेन ? त्यो हामीले नखोजे कसले खोज्छ त ?”
उनले रवि लामिछानेको ठाउँमा कांग्रेसको मान्छे, एमालेको, माओवादीको वा अरू कुनै मान्छे भएको भए पनि यही गर्नुपर्ने बताए ।
“पुराना दलको जो भए पनि यही गर्नुपर्थ्यो भने नयाँ दलको मान्छेलाई गर्नुपर्दैन ? यहाँ पुरानो वा नयाँ भन्ने हुन्छ ? कांग्रेसी एमाले वा माओवादी भन्ने कुरा हुन्छ ? सत्तापक्ष वा प्रतिपक्ष भन्ने कुरा हुन्छ ?,” प्रश्न गर्दै थापाले भने, “भ्रष्टाचारको सन्दर्भमा हामी गम्भीर छौँ । हामी आफ्नो पार्टीको, अर्को पार्टीको भन्दैनौँ, कानुनको शासनको सन्दर्भमा हामी प्रस्ट छौँ, कानुनभन्दा माथि कोही पनि हुँदैन ।”
त्यस्तै थापाले निर्वाचन प्रणाली बदलेर कांग्रेस र एमाले चुनाव भिड्ने र जित्नेले पाँच वर्ष सरकार चलाउनुपर्ने बताए।
‘कांग्रेस र एमालेले निर्वाचन प्रणाली बदल्न संवाद गर्नुपर्छ र कांग्रेस-एमाले निर्वाचनमा भिड्नुपर्छ,’ उनले भने, ‘हामी जिते पाँच वर्ष चलाउँछौं, उसले जिते पाँच वर्ष चलाउँछ। सानासाना दोकान बन्द गर्नुपर्यो, यसका लागि संवाद गर्नुपर्छ।’



