Skip to main content

Epost Nepal

कांग्रेसको नयाँ नेतृत्व छान्न १ बजेदेखि मतदान हुने

२२ असोज, काठमाडौं — नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो १ बजेसम्मका लागि सारिएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले निर्वाचनको तयारी पूरा नभएकाले मतदानको समय दिउँसो १ बजेका लागि सारिएको जानकारी दिए।

यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर वर्षा र केही प्राविधिक कारणले मतदान बिहान १० बजेदेखि सुरु गर्ने तयारी गरिएको थियो। तयारी पूरा नभएपछि पुनः समय सारिएको हो।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने प्रज्ञा–प्रतिष्ठानमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

त्यस्तै, खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *