१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीमा परेकामध्ये ६ जनाको शव धादिङमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुधबार दिउँसो ३ बजेसम्म जिल्लाका विभिन्न स्थानमा ६ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार गल्छी गाउँपालिका–स्थित महेश दोभानमा एक महिलाको शव भेटिएको छ । त्यस्तै, गल्छी गाउँपालिकाकै कोल्फु खोला पुलनजिकै दुई पुरुषको शव फेला परेको छ ।
सिद्धलेख गाउँपालिका–७ स्थित त्रिशूली नदीको किनारमा एक जनाको तथा बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट बजारनजिकै त्रिशूली नदी किनारमा दुई महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।