२ भदौ, काठमाडौं — नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं महानगरपालिका–१५ स्थित ‘नेवाः मंका छेँ’ मा राखिएको छ।
९३ वर्षीय श्रेष्ठको आइतबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।
पछिल्लो समय अस्वस्थ रहेका श्रेष्ठको निधन घरमै भएको नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लले जानकारी दिए।
श्रेष्ठ पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषासँगै नेपाली भाषामा पनि कविता, गीतलगायत साहित्यका विभिन्न विधामा योगदान पुर्याएका छन्।
नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’ को उपाधिबाट सम्मान गरेको थियो।
नेपाल भाषा तथा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका श्रेष्ठको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ।