१७ कात्तिक, काठमाडौं — पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा हालसम्म ८६ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ।
पूर्वी खण्ड (जामुने–मुग्लिन)को निर्माण सम्पन्न भइसकेको छ। निर्माण कम्पनीले उक्त सडक खण्ड आयोजना कार्यालयलाई हस्तान्तरणसमेत गरिसकेको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
उनका अनुसार सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएपछि हाल त्रुटि सच्याउने अवधि (डीएलपी) सुरु भएको छ। यो अवधि पूरा भएपछि थप पाँच वर्षसम्म सडकको मर्मतसम्भार गर्ने जिम्मेवारी पनि निर्माण कम्पनीकै हुनेछ।
इन्जिनियर पाण्डेका अनुसार ४१.४५ किलोमिटर लामो पूर्वी खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ भने अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गरिएको छ। यस खण्डमा साना तथा ठूला गरी १७ वटा पक्की पुलसमेत निर्माण भएका छन्।
तनहुँको मादी नदीमा निर्माण हुने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत बनिरहेको पाण्डेले बताए।
करिब पाँच दशकअघि निर्माण भएको उक्त सडकको विस्तार तथा स्तरोन्नति २०७८ साल वैशाखदेखि सुरु गरिएको थियो। पूर्वी खण्ड निर्माणको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा पाएको थियो।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने यस सडकको स्तरोन्नतिपछि संघीय राजधानी काठमाडौं, चितवनलगायत स्थानबाट पोखरा आवतजावत गर्न सहज भएको छ। निर्माणका क्रममा धुलो र हिलोका कारण सास्ती खेपेका यात्रुले अहिले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन्।
पश्चिम खण्ड (पोखरा–जामुने)का आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
उनका अनुसार पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ। अहिले करिब पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ। सडकमा रोड मार्किङ गर्ने, ट्राफिक संकेत राख्ने तथा सडक सुरक्षासम्बन्धी अन्य काम पनि तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।
पोखरा महानगरपालिका–१० को अमरसिँहचोकदेखि सेती पुलसम्मका साथै तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको कुँवरले बताए।
निर्माण सम्पन्न भएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्याउने अवधि (डीएलपी) लागू हुनेछ। सडक हस्तान्तरण भइसकेपछि पनि ठेक्का सम्झौताअनुसार एक वर्षसम्म डीएलपी र त्यसपछिका पाँच वर्षसम्म मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीकै रहने उनले बताए।
कुल ३८.८८ किलोमिटर दूरीको पश्चिम खण्डमा १८.५ किलोमिटर सडक छ लेनको बनाइएको छ भने बाँकी सडक चार लेनमा विस्तार गरिएको छ।
इन्जिनियर कुँवरका अनुसार पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनको सडक निर्माण गरिएको हो। तनहुँतर्फका दुलेगौँडा र खैरेनीटार बजार क्षेत्रमा पनि छ लेन सडक विस्तार गरिएको उनले बताए।
यस खण्डमा निर्माण गर्नुपर्ने १३ वटा पुलमध्ये १२ वटा सम्पन्न भइसकेका छन्। पोखराको सेती नदीमाथि बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ।
तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरासम्म जोड्ने पश्चिम खण्ड निर्माणका लागि २०७८ साल जेठ २ गते सम्झौता भएको थियो। त्यसपछि २०७८ साल भदौ १२ गतेदेखि निर्माण कार्य सुरु गरिएको हो। यस खण्डको ठेक्का चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको थियो।
कुल ८१ किलोमिटर लामो पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नति भइरहेको हो। सरकारको प्राथमिकतामा रहेको यस आयोजना सुरुमा अपेक्षित गतिमा अघि बढ्न नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले निर्माणमा ढिलाइ नगर्न दबाब दिएका थिए।
गण्डकी प्रदेशको राजधानी पोखरालाई जोड्ने प्रमुख सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधि विस्तारमा सहयोग पुगेको छ। यसअघि पोखरा आवतजावत गर्दा धुलो र हिलोका कारण घण्टौँ यात्रा गर्नुपर्ने समस्या पनि अन्त्य भएको छ।
सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरू फराकिला र व्यवस्थित बनेका छन्। अमरसिँहचोक, अर्घौंचोक, बुद्धचोक र तालचोकलगायत स्थानमा मापदण्डविपरीतका संरचना हटाएर सडक तथा चोक विस्तार गरिएको छ।