१६ कात्तिक, काठमाडौं — सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई राउन्ड हवाई फायर गरी करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको थियो।
प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा गाँजा बोकेर भाग्न थालेपछि दुई राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पाँचै जनालाई नियन्त्रणमा लिइएको हो।
गोप्य सूचनाका आधारमा प्रहरीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।
त्यसैगरी, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेल पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार रामसागर बा.१ च ५०३८ नम्बरको जिपका चालक हुन् भने राजकुमार को.१ च ८१८२ नम्बरको जिप चलाउँदै आएका थिए।
पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।