१७ कात्तिक, काठमाडौं — न्यायालय र न्यायक्षेत्रसँग सम्बन्धित पछिल्लो समय उठेका प्रश्न तथा टिप्पणीबारे अध्ययन गर्न नेपाल बार एसोसिएसनले समिति गठन गरेको छ।
सोमबार बसेको बारको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जानकारी दिए।
समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरू उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य छन्। बारका केन्द्रीय सदस्य बाबुराम अर्याललाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
महासचिव कोइरालाका अनुसार समितिलाई न्यायालयका विषयमा उठेका टिप्पणीहरूको तथ्य संकलन गर्ने र समग्र न्याय क्षेत्रको सुधार तथा उन्नयनका लागि आवश्यक सुझाव तयार पार्ने जिम्मेवारी दिइएको छ। समितिले एक महिनाभित्र आफ्नो अध्ययन प्रतिवेदन तयार गर्नुपर्नेछ।
बारको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले न्यायपालिकासम्बन्धी समसामयिक विषयमा अध्ययन गर्न उक्त समिति गठन गर्ने निर्णय गरेको हो।
पछिल्लो समय सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाले न्यायाधीशहरूसँग भेट गरेको विषयले चर्चा पाएको छ।
मुद्दामामिलासम्बन्धी विषयमा न्यायाधीश हरिप्रसाद फुयालसँग कुराकानी भएको च्याटसमेत सार्वजनिक भएको छ। त्यसपछि होटल हिमालयमा न्यायाधीश फुयालसहित अन्य व्यक्तिहरूबीच भेट भएको विवरण पनि बाहिरिएको थियो। न्यायाधीश फुयालले भने भेटघाट र कुराकानी भएको स्वीकार गरेका छन्।
यद्यपि, इनम सापकोटाबारे न्यायाधीश फुयालसहित अन्य केही व्यक्तिले नै सरकारलाई जानकारी गराएपछि उनी पक्राउ परेको दाबी गरिएको छ।
यसैबीच, सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) ले पनि सम्बन्धित निकायलाई घटनाबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ।