१७ भदौ, काठमाडौं — रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराइएको ६ करोड ७५ लाख रुपैयाँमा थप ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो।
यससँगै बाढी प्रभावित स्थानीय तहलाई उपलब्ध गराइने कुल रकम १३ करोड ५० लाख रुपैयाँ पुगेको छ।
निर्णयअनुसार रसुवाका चार स्थानीय तहलाई कुल ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङमो गाउँपालिकालाई ४० लाख रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, नुवाकोटका चार स्थानीय तहका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ५० लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराइनेछ।
धादिङका चार स्थानीय तहलाई १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ। गल्छी गाउँपालिकालाई ६० लाख तथा सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकालाई ४०–४० लाख रुपैयाँ उपलब्ध गराइनेछ।
यसैगरी, गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ। तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई पनि ४०–४० लाख रुपैयाँ उपलब्ध गराइनेछ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा राहत वितरण, खोज तथा उद्धार र पुनर्स्थापनाका काम जारी छन्।