१० भदौ, काठमाडौं — रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् ।
नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त विवरणका आधारमा झन्डै ४ सय पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ ।
सम्पर्कविहीन हुनेमा २ सय ९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँग विवरण पुष्टि गरेपछि पर्यटन बोर्डले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार सम्राट टुर्स एन्ड ट्राभल्सबाट गएका ७१ जना सम्पर्कविहीन छन् । तीमध्ये ५९ भारतीय र १२ नेपाली छन् । त्यस्तै, काठमाडौं होलिडेजबाट गएका १७ जना सम्पर्कविहीन छन्, जसमा १ विदेशी र १५ नेपाली रहेका छन् ।
लिफ होलिडेजबाट गएका ५५ जना सम्पर्कविहीन छन् । तीमध्ये ४६ भारतीय र ९ नेपाली छन् । कैलास जर्नीबाट गएका ३१ जना सम्पर्कविहीन रहेकोमा २६ विदेशी र ५ नेपाली छन् ।
त्यसैगरी, एक्स्प्लोर भ्याकेसनबाट गएका ७ नेपाली पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ । ट्रेकर्स सोसाइटीबाट गएका ९२ जना सम्पर्कविहीन छन् । तीमध्ये ७७ विदेशी र १५ नेपाली रहेका छन् ।
रिचा टुर्स एन्ड ट्राभल्सबाट गएका १२ जना सम्पर्कविहीन छन् । जसमा ८ विदेशी र ४ नेपाली छन् । फिस्टेल टुर्स एन्ड ट्राभलबाट गएका २७ जना सम्पर्कविहीन रहेकोमा २० विदेशी र ७ नेपाली छन् ।
हिमालयन ग्लेसियरबाट गएका ५२ जना सम्पर्कविहीन छन् । तीमध्ये ३७ विदेशी र १५ नेपाली छन् । त्यस्तै, अल्पाइन इको ट्रेकबाट गएका २० जना सम्पर्कविहीन रहेकोमा १६ विदेशी र ४ नेपाली रहेका छन् ।