Skip to main content

Epost Nepal

पत्रकार श्रेष्ठ पक्राउपछि जनआस्था कार्यालयमा पुग्यो प्रहरी टोली

२८ साउन, काठमाडौं — पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले सानेपास्थित जनआस्था कार्यालयमा समेत खानतलासी गरेको छ। आज बिहान प्रहरीको टोली कार्यालयमा पुगेर खानतलासी गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कम्प्युटर तथा कम्प्युटरजन्य उपकरण जाँच गर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो।

प्रहरी टोली बिहान ७ बजे नै कार्यालय पुगेको थियो। चार–पाँच जना प्रहरी कार्यालयभित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए। कार्यालयभित्र प्रवेश गरेका प्रहरीले कागजपत्र तथा विभिन्न इलेक्ट्रोनिक उपकरण संकलन गरेको एक पत्रकारले बताएका छन्।

पत्रकार श्रेष्ठलाई प्रहरीले गएराति पक्राउ गरेको थियो। उनको पक्राउको विरोध गर्दै नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका छन्। उनीहरूले पक्राउको विरोधमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

प्रहरीले पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ। उक्त विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन्। खोजी पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाएका श्रेष्ठ खरो र निर्भीक पत्रकारका रूपमा परिचित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *