२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
पहिरोमा परी विद्युत्गृहमा कार्यरत अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका छन्। त्यस्तै, गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बेपत्ता बरुवालको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोली परिचालन गरिएको छ। घाइते विकको उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत्गृह पुरिएको थियो। पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहेका उपकरणमा समेत क्षति पुगेको छ। क्षतिका कारण आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ।