Skip to main content

Epost Nepal

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। उनी सामाजिक चिन्तक तथा प्रखर बौद्धिक नेता स्वर्गीय प्रदीप गिरीका सुपुत्र हुन्।

उम्मेदवारी दर्तापछि लहानमा पत्रकारहरूसँग कुरा गर्दै गिरीले आफू मन्त्री बन्ने उद्देश्यले राजनीतिमा नआएको स्पष्ट पारे। “मलाई मन्त्री बन्नु छैन। राजनीतिले के हो भन्ने बुझाउन र यसलाई सुधार गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ,” उनले भने। उनले एमाले, कांग्रेस, माओवादी र जसपाका केही नेताहरूले राजनीतिलाई कमाउने माध्यम र व्यापारको रूपमा प्रयोग गरेको देख्दा दुःख लागेको पनि बताए।

उनले राजनीति व्यापार नभई सेवा र साधनाको मार्ग भएको उल्लेख गर्दै जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक संस्कार आवश्यक रहेको धारणा व्यक्त गरे। लहान र सिरहामा समाजसेवामार्फत नागरिकसँग नजिक रहेर काम गर्ने आफ्नो इच्छा रहेको उनले बताए।

गिरीले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य र कृषिको आधुनिकीकरण तथा लहान–सिरहाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित रहेको स्पष्ट पारे। “यी क्षेत्र सुधार नभएसम्म समग्र विकास सम्भव हुँदैन,” उनले भने।

उनले आफ्नो चुनावी अभियान निरन्तर जारी रहेको जानकारी दिँदै ‘रिक्सा’ छापबाट चुनाव लड्ने बताए। साथै, यो उम्मेदवारी बुबाको सपना साकार पार्ने प्रयास भएको उल्लेख गर्दै स्वर्गीय प्रदीप गिरीले देखाएको मूल्य, निष्ठा र वैचारिक राजनीतिलाई अघि बढाउने प्रतिबद्धता जनाए।

ई-पोस्ट का पत्रकारहरु संगको कुराकानीमा उनले बुबाको राजनीतिक योगदानबाट प्रेरणा लिएर स्वच्छ र विचारमा आधारित राजनीतिलाई निरन्तरता दिन चाहेको बताए।

स्थानीयवासीका अनुसार सन्तोष सिल्वाल गिरी सिरहा–१ मा चर्चित र अर्थपूर्ण उम्मेदवारका रूपमा हेरिएका छन्। उनका पिता प्रदीप गिरी नेपाली राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत बौद्धिक व्यक्तित्वका रूपमा परिचित थिए, जसको प्रभाव आज पनि व्यापक रूपमा महसुस गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *