Skip to main content

Epost Nepal

वीरगन्जमा सुरक्षा कडा, कर्फ्यु जारी राख्ने निर्णय

२२ पुस, काठमाडौं — वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि लागू गरिएको कर्फ्यु स्थानीय प्रशासनले यथावत् राखेको छ। प्रारम्भमा कर्फ्यु सोमबार साँझदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि लगाइएको थियो भने पछि मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म अवधि थप गरिएको हो।

यसअघि सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लागू गरिए पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि कर्फ्यु लगाइएको थियो। कर्फ्यु क्षेत्र वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।

धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडको विरोधमा मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए। त्यसको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति र सोमबार बिहानदेखि प्रदर्शन गरेपछि वीरगन्जको अवस्था तनावग्रस्त बनेको हो।

यसैबीच जिल्ला प्रशासन कार्यालयको आह्वानमा जिल्ला प्रशासन कार्यालयमै सर्वदलीय तथा सर्वपक्षीय बैठक जारी छ। बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता तबरेज अहमदका अनुसार, सरोकारवालाहरूले आ–आफ्ना धारणा राख्दै उत्पन्न जटिल परिस्थितिको सहज समाधान खोज्ने प्रयास भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *