Skip to main content

Epost Nepal

बुद्धको तस्वीर उपहार दिँदै प्रधानमन्त्रीको आह्वान: शान्तिपूर्ण बाटो रोजौं

१५ पुस, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, अमन-चैन र दिगो लोकतन्त्र स्थापना गर्न निर्वाचन नै सबैभन्दा प्रभावकारी उपाय भएकाले यस प्रक्रियामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी छन्।

बालुवाटारमा आज बिहान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले देश अब थप अस्थिरता र अशान्ति सहन नसक्ने अवस्थामा पुगेकाले आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट व्यक्त गर्न आग्रह गरिन्।

मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले जनतामार्फत आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एकमात्र बाटो भएको बताइन्। ‘हामीले धेरै कठिन परिस्थितिबाट मुलुकलाई पुनः शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौं,’ उनले भनिन्, ‘सबै प्रकारका आशंका हटाउँदै देश पूर्ण रूपमा निर्वाचनको वातावरणमा प्रवेश गरेको छ। यस्तो अवस्थामा सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित छ। यो देश मेरो पनि हो भन्ने भावनासहित सबै जिम्मेवार बनौं।’

प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न प्रसाईँलाई आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्वीर उपहार दिइन्।

‘हामी पनि न्यायका पक्षमा छौं,’ उनले भनिन्, ‘सत्ता भोग र सुविधा उपभोगका लागि सरकारमा आएका होइनौं। भ्रष्टाचार अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको सुरुआत गरिसकेका छौं। सबै नतिजा तुरुन्त देखिन नसके पनि आधार तयार हुँदै गएको छ। तपाईंले उठाउनुभएका केही जायज मागको सम्बोधनका लागि पनि सरकार तयारीमै छ। थप छलफललाई निरन्तरता दिऔं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *