Skip to main content

Epost Nepal

संविधानमा भएका अधिकारहरू कटौती गर्ला भनेर सोच्नु जन्मदिने आमाले आफ्नो बालकको अहित चिताउँछ र?: कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह

९ असोज, काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतको समीकरणमा सरकार बनाएको बताएका छन् ।

बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८/९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलहरूको सरकार बनेको बताएका हुन् ।

उनले गत निर्वाचनको परिणाम अनुरूपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे ।

उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरू समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताए ।

उनले कांग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरीत गएर संविधानमा भएका अधिकारहरूको कटौती नगर्ने बताए ।

उनले भने, ‘राजनीतिक स्थिरता र स्थायित्व बिना अरू कुनै क्षेत्र स्थिर हुन नसक्ने भएको कारणले गर्दा सबभन्दा पहिले राजनीतिक स्थिरता दिनुपर्‍यो । गत निर्वाचनबाट जुन परिणाम आयो, संसदको बनावट कस्तो भयो भने ८/९ महिनामा सरकार परिवर्तन भइराख्ने । आम जनतामा सरकार त टिक्दैन भने सरकारले हाम्रो लागि के राम्रो काम गर्छ र भन्ने भाष्य विकास हुन थाल्यो । भन्न त भन्छन्, संसदको ठूलो र दोस्रो ठूलो पार्टी एकै ठाउँमा आएर सरकार बनायो भने त संसदीय प्रणालीकै खिलापमा जान्छ कि भन्ने विचार पनि नआएको होइन। तर हामीले के बुझ्नुपर्‍यो भने अहिलेको राजनीतिक अस्थिरताको कारणले संसदबाट पनि विधेयकहरू पारित गर्न नसकेको कारणले पनि राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत अन्य दलहरू मिलेर अहिलेको यो सरकार बनेको छ । कांग्रेस–एमालेले आन्दोलन गरेर अधिकार संकुचित भयो । अधिकारमा स्वतन्त्र हुनुपर्‍यो भनेर लडेको पार्टीले सत्तामा गएपछि आफैले जारी गरेको संविधानको भावना र मर्म विपरीत हामी आफैले जन्माएको संविधानमा भएका अधिकारहरू कटौती गर्ला भनेर सोच्नु जन्मदिने आमाले आफ्नो बालकको अहित चिताउँछ र? चिताउँदैन नि।’-न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *