Skip to main content

Epost Nepal

बिचौलियाहरूको डिजाइनमा कांग्रेस-एमालेले रातारात समीकरण निर्माण गरे: माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

१७ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए ।

पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरूको डिजाइनमा कांग्रेस-एमालेले रातारात समीकरण निर्माण गरेको गरेको आरोप लगाए ।

सरकारले जनताको पक्षमा काम गरेकै कारण सरबारबाट बाहिरिँदा पार्टी पंक्तिको मनोबल उच्च भएको उनको भनाइ थियो ।

पुनले सातवटै प्रदेशका परामर्श बैठक सकिँदै पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको दाबी गरे । अब एकताबद्ध भएर सडक र सदनबाट संघर्ष गर्ने उनले बताए। ‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ’, पुनले भने, ‘हामी जनताको एजेण्डामा एकजुट सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौं, संघर्ष गर्छौं ।’

मुलुकको राजनीतिमा बिचौलियाको संरक्षण गर्ने, भ्रष्टाचार र राज्य दोहन गर्ने र सुशासनका लागि त्यस्ता प्रवृत्तिहरुसँग संघर्ष गर्नेहरूबीचको ध्रुवीकरण पैदा भएको टिप्पणी पुनले गरे ।

‘बिचौलियाहरूको पक्षमा सरकार छ । हामी तिनीहरूलाई पराजित गर्नुपर्ने पक्षमा छौं । हामीले सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गरेका थियौं’, पुनले भने, माओवादीले सरकार छाडेपछि पनि हाम्रो पंक्ति किन उत्साहित छ र उच्च मनोबल किन छ भन्दा सामाजिक न्याय र सुशासन लागि जनताको आकांक्षाका अनुसार काम गरेका छौं ।’

पुनले सरकारबाट बाहिरिएपछि पुराना संसदवादी पार्टीहरू एकातिर र आफूहरू अर्कोतिरजस्तो भएको बताए । माओवादी पनि पुराना पार्टीहरूजस्तै भयो भन्ने गुनासाहरू थिए र खबरदारीहरू रहेको भन्दै उनले आफूहरूका अगाडि कांग्रेस-एमालेभन्दा फरक हौं भन्ने मौका आएको तर्क गरे ।

‘अब हामीलाई पुराना पार्टीहरूभन्दा फरक हौं भनेर पुष्टि गर्ने मौका आएको छ । आफ्नो धार बोकेर अगाडि बढेका छौं’, पुनले भने, ‘सुशासनको, सामाजिक न्यायको, गरिखाने जनताको र उत्पीडित  वर्गको आवाज र एजेण्डाको नेतृत्व हामी गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *