Skip to main content

Epost Nepal

ग्यास अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति जारी

२१ भदौ, काठमाडौं — पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर खण्डमा पहिरो गएर सडक अवरुद्ध भए पनि वैकल्पिक बाटो प्रयोग गरेर पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको नेपाल आयल निगमले जनाएको छ।

सडक अवरुद्ध हुँदा ग्यास आपूर्तिमा असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै तराईका विभिन्न उद्योगबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइएको निगमले जनाएको हो।

निगमको तथ्यांकअनुसार १८ देखि २० भदौसम्म कुल ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको छ।

जसमध्ये १८ भदौमा २४ हजार ४ सय ९४, १९ भदौमा ३४ हजार १ सय ३४ र २० भदौमा २९ हजार २ सय ४९ सिलिन्डर ग्यास काठमाडौं आइपुगेको निगमले जनाएको छ।

निगमका अनुसार काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डरलाई अर्को व्यवस्था नभएसम्म बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा रिफिल गरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको छ।

वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा/श्रीकृष्ण, श्रीमाया (काभ्सन्स), लोकप्रिय (उग्रचण्डी), एभरेस्ट/सुगम, नेपाल, एचपी (हिमालयन), एसटीसी (मेट्रो काठमाडौं), सिद्धार्थ, हिमाल (गौरीशंकर), सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर रहेका छन्। निगमका अनुसार १६ वटा उद्योगका ग्यास यसरी निरन्तर काठमाडौं भित्रिरहेका छन्।

पृथ्वी राजमार्गको कृष्णभिर खण्ड नियमित रूपमा सञ्चालनमा नआएसम्म यही वैकल्पिक प्रक्रियाबाट ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *