२१ भदौ, काठमाडौं — दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा बाढीपछिको खोज, उद्धार, राहत तथा पुनर्निर्माणका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा कोरियाली विपद् राहत टोली र अन्तरनिकाय र्यापिड रेस्पोन्स टोली पठाएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएका थिए। उनले विपद् प्रतिरोधी, दिगो र बलियो पूर्वाधार निर्माण नेपाल सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै निरन्तर सहयोगको अपेक्षा पनि व्यक्त गरे।
जवाफमा कोरियाली परराष्ट्रमन्त्री चो ह्युनले विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन दक्षिण कोरिया पूर्ण रूपमा तयार रहेको बताएका छन्।
जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेको क्षतिप्रति विश्व समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उनले कोपजस्ता अन्तर्राष्ट्रिय मञ्चमा यस विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए।
नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका विषयमा पनि दक्षिण कोरियाले आफ्नो तर्फबाट आवाज उठाउने प्रतिबद्धता जनाएको छ।
भेटका क्रममा दुवै मन्त्रीले नेपाल–दक्षिण कोरियाबीचको लामो समयदेखिको मित्रता र सहकार्यमा आधारित सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।
दक्षिण कोरियाका परराष्ट्रमन्त्री ह्युन तीनदिने भ्रमणमा नेपाल आएका हुन्।