१९ भदौ, काठमाडौं — नेपालमा विदेशी लगानीका लागि अनुकूल वातावरण नरहेको र काम गर्न सक्ने अवस्था नभएको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्।
फोलेको राजीनामापछि एनसेल सञ्चालक समितिले कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ। यसबारे नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी गराइएको छ।
एनसेलले प्राधिकरणलाई पठाएको पत्रअनुसार भदौ ९ गतेदेखि फोलेको राजीनामा स्वीकृत भएको हो। नयाँ सीईओ नियुक्त नभएसम्म श्रेष्ठलाई कम्पनीको ‘लिमिट्स अफ अथोरिटी’ अन्तर्गत प्रमुख कार्यकारी अधिकृतलाई प्राप्त सम्पूर्ण अधिकार प्रयोग गर्ने गरी जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।
स्मार्टसेलको सम्पत्ति लिलामी प्रकरणमा सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत धितो लिलामी गर्ने बैंक तथा लिलामी सकार्ने सेवा प्रदायकलगायतमाथि मुद्दा चलाउने प्रक्रिया अघि बढाएपछि फोलेले नेपालमा काम गर्न नसकिने निष्कर्षसहित एक वर्ष नपुग्दै पद छाडेको स्रोतको दाबी छ।
यसअघि सरकारले टंकमणि शर्मा नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्दा कम्पनीको गोपनीय अधिकार हनन भएको भन्दै एनसेल सर्वोच्च अदालत गएको थियो। सो मुद्दामा सर्वोच्च अदालतले एनसेलको पक्षमा अन्तरिम आदेश दिएको थियो।
नेपालमा विदेशी लगानीकर्तामाथि सरकारबाटै अन्याय भएको गुनासो एनसेलले यसअघि अर्थमन्त्रीले विदेशी लगानीकर्तासँग गरेको छलफलमा पनि उठाएको थियो।