१९ भदौ, काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका दुई जनामध्ये एकजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने अर्का एकजनाको अवस्था जटिल रहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबिर महर्जन हुन्।
‘जटिल अवस्थामा रहनुभएका व्यक्ति दोस्रो पटक उद्धार गरिनुभएका कबिर महर्जन हुनुहुन्छ। उहाँलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ,’ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। उनको अवस्था स्थिर रहे पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइँदै छ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बिहान उनीहरूको उद्धार गरेको हो।
आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंका भएपछि बाढी आएको दिनदेखि नै लगातार खोज तथा उद्धार प्रयास जारी राखिएको थियो।