११ भदौ, काठमाडौं — रसुवाको भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका नागरिकको उपचारका लागि विदुरस्थित चक्रदेवी अस्पतालले ‘इमर्जेन्सी मोड’ मा सेवा दिइरहेको छ ।
अस्पतालले घाइतेहरूलाई प्राथमिक उपचार गरिरहेको छ भने गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइरहेको छ ।
चक्रदेवी अस्पतालका डा. राकेश परियारका अनुसार अस्पताल बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहेकाले उद्धार गरिएका घाइतेलाई उपचारका लागि अस्पतालमै ल्याउने गरिएको छ ।
बाढीले नुवाकोटका त्रिशूली बजार, बेत्रावती बजार, ढुंगे बजार र देवीघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको छ । सडक तथा पुल बगाएपछि प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्म पुग्ने बाटोसमेत प्रभावित भएको डा. परियारले बताए ।
ढुंगे क्षेत्रका पक्की पुल बगाएपछि आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । त्यसका कारण गम्भीर अवस्थाका बिरामीलाई स्थलमार्गबाट काठमाडौं पठाउनसमेत कठिन भएको उनले जानकारी दिए ।
डा. परियारका अनुसार बिहीबारसम्म चक्रदेवी अस्पतालमा २४ जना बिरामी उपचारका लागि ल्याइएका थिए । तीमध्ये ९ जनाको अवस्था गम्भीर रहेकाले नेपाली सेनासँग समन्वय गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
अन्य बिरामीको उपचार भने चक्रदेवी अस्पतालमै भइरहेको छ । अस्पतालमा बिरामी ल्याउने क्रम अझै जारी रहेको र आपतकालीन अवस्थामै उपचार सेवा सञ्चालन भइरहेको डा. परियारले बताए ।
खोज तथा उद्धार कार्य भर्खरै तीव्र हुन थालेकाले घाइतेको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ ।
‘अहिले त खोजी तथा उद्धार कार्य बल्ल सुरु भएको छ,’ उनले भने, ‘अझ ठूलो संख्यामा बिरामी आउन सक्ने सम्भावना देखिएको छ ।’
१५ शय्याको चक्रदेवी अस्पतालले आवश्यक परे ‘ट्रायाज’ प्रणालीमार्फत एकैपटक ठूलो संख्यामा बिरामी व्यवस्थापन गर्ने तयारी गरेको छ । तर अस्पतालमा स्वास्थ्यकर्मीको संख्या सीमित रहेको डा. परियारले बताए ।
उनका अनुसार दुई जना चिकित्सकसहित सीमित स्वास्थ्यकर्मीले निरन्तर सेवा दिइरहेका छन् ।
बाढीपछि अस्पतालको उपचार सेवामा सबैभन्दा ठूलो समस्या विद्युत् आपूर्तिको बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा बिरामीको निरन्तर निगरानीका लागि आवश्यक उपकरण सञ्चालन गर्न कठिन भएको छ ।
अस्पतालले अहिले पेट्रोलबाट चल्ने इन्भर्टरको सहायतामा उपचार सेवा सञ्चालन गरिरहेको छ । तर पेट्रोलको अभाव भएपछि यो व्यवस्था पनि लामो समयसम्म सञ्चालन गर्न चुनौती देखिएको छ ।
बाढीले ढुंगे क्षेत्रको पेट्रोल पम्पसमेत बगाएको र बट्टारमा रहेको अर्को पेट्रोल पम्पमा पनि पेट्रोल अभाव भएपछि समस्या थपिएको डा. परियारले बताए ।
‘मुख्य समस्या अहिले बिजुलीको हो । बिजुली नभएपछि बिरामीलाई निरन्तर मोनिटरमा राख्न गाह्रो भएको छ,’ उनले भने, ‘जेनेरेटर चलाउनका लागि पेट्रोलसमेत सकिएको छ ।’