११ भदौ, काठमाडौं — प्रधानमन्त्री बालेन शाहले नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनी काठमाडौं फर्किएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल भने आफ्नो टोलीसहित नुवाकोटमै रहेका छन् ।
सरकारी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री बालेनको नुवाकोट भ्रमण पूर्वनिर्धारित थिएन । तर, अन्तिम समयमा प्रधानमन्त्री स्वयंले नुवाकोट पुगेर बाढी प्रभावितको अवस्था बुझ्ने इच्छा व्यक्त गरेपछि भ्रमण तय भएको हो ।
नुवाकोट पुगेपछि प्रधानमन्त्री बालेनले विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय तथा घाइतेसँग भेट गरी उनीहरूको अवस्था बुझेका थिए ।
प्रधानमन्त्री काठमाडौं फर्किए पनि भौतिकमन्त्री लम्साल नुवाकोटमै छन् । नेपाली सेनाले उद्धार तथा खोजी कार्यमा भइरहेको प्रगतिबारे मन्त्री लम्साललाई जानकारी गराएको छ । उनले तत्काल उद्धार तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक प्रयास गर्न निर्देशन दिएका छन् ।
यस्तै, सञ्चारमन्त्री विक्रम तिमिल्सिना बुधबार दिउँसोदेखि नै नुवाकोटका विभिन्न बाढी प्रभावित क्षेत्रमा निरीक्षणमा रहेका छन् ।