११ पुस, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटका क्रममा प्रचण्डले निर्वाचनको कुनै विकल्प नरहेको बताएका हुन्।
प्रचण्डसँगको भेटपछि सरकारका प्रवक्ता खरेलले सञ्चारकर्मीसँग भने, “निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिएको हो। प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ र निर्वाचनका लागि सरकारलाई सहयोग रहने स्पष्ट गर्नुभयो।”
उनका अनुसार, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारले आवश्यक निर्वाचन वातावरण तयार पारेमा चुनावमा सहभागी हुने बताएका छन्। साथै, प्रधानमन्त्रीले पनि निर्वाचन अनुकूल वातावरण निर्माणका लागि राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी प्रवक्ता खरेलले दिए।



