११ पुस, काठमाडौं — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री नियुक्त हुने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने र आजै शपथ गराउने तयारी भइरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार, “उहाँको शपथ आजै हुने तय छ।”
बालानन्द शर्मा माओवादी लडाकूलाई शान्ति प्रक्रियापछि नेपाली सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजकका रूपमा कार्यरत थिए।
यसैगरी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा कोभिड–१९ महामारीका बेला गठन गरिएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को जिम्मेवारी पनि उनले सम्हालेका थिए, जहाँ उनले सिइओको भूमिकामा काम गरेका थिए।
पूर्वरथी शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) का प्रमुखसमेत रहिसकेका छन्। साथै, उनले नेपाली सेनामा फोर्स कमाण्डरको रूपमा पनि सेवा प्रदान गरेका थिए।



