१५ कात्तिक, काठमाडौं — नेपालमा हाल २८ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार हुँदै आएको छ। यसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि समावेश छ। तर, व्यापारको हिस्सा हेर्दा वीरगञ्ज भन्सार नाका सबैभन्दा अगाडि छ। देशको कुल आयातको झन्डै आधा हिस्सा यही नाकाबाट हुने गरेको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् साउनदेखि असोजसम्म नेपालले ६ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यसमध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो कुल आयातको ४८.३० प्रतिशत हो।
वीरगञ्ज नाकाबाट नेपालमा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात हुने गरेको छ। यस नाकाको निर्यातमा पनि उल्लेख्य हिस्सा रहेको छ।
विभागका अनुसार साउनदेखि असोजसम्म नेपालबाट १ खर्ब १४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यसमध्ये वीरगञ्ज नाकाबाट मात्रै ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
गत १० भदौको बाढीका कारण नेपाल–चीन व्यापार मुस्ताङ नाकामा सीमित भएको छ। कालीगण्डकी नदीमा आएको बाढीले उक्त नाका पनि प्रभावित भएपछि नेपालको वैदेशिक व्यापार मुख्य रूपमा भारततर्फका नाकामा केन्द्रित भएको छ।
आयातका आधारमा वीरगञ्जपछि भैरहवा दोस्रो व्यस्त भन्सार नाका बनेको छ। यस नाकाबाट तीन महिनामा ९८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो कुल आयातको १५.२८ प्रतिशत हो।
त्यस्तै, विराटनगर नाका तेस्रो स्थानमा छ। यस नाकाबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको १२.११ प्रतिशत हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि तीन महिनामा ५१ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो कुल आयातको ७.९८ प्रतिशत हो।
अन्य भन्सार विन्दुबाट हुने आयातको हिस्सा तुलनात्मक रूपमा कम छ। तीन महिनाको अवधिमा नेपालगञ्ज नाकाबाट २३ अर्ब ९१ करोड, मुस्ताङ नाकाबाट २२ अर्ब ३ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
त्यस्तै, रसुवागढी नाकामा बाढीले क्षति पुर्याएपछि चोभारस्थित सुक्खा बन्दरगाहको व्यापारिक गतिविधि पनि घटेको छ। समीक्षा अवधिमा चोभार भन्सार विन्दुबाट ४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु मात्रै आयात भएको छ।