Skip to main content

Epost Nepal

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु मुद्दा प्राथमिकतासाथ उठाइने

१२ कात्तिक, काठमाडौं — आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रतिनिधिसभाका सभामुख डीपी अर्यालबीच छलफल भएको छ।

मन्त्रालयका अनुसार भेटमा जलवायु वित्त जुटाउने तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु एजेन्डालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा विचारविमर्श भएको थियो।

छलफलमा जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित नेपालजस्ता पर्वतीय तथा संवेदनशील मुलुकका मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिइएको छ। साथै, हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने आर्थिक सहयोगलाई प्रभावकारी रूपमा उपयोग गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

कोप–३१ मा सांसदहरूको सहभागितालाई व्यवस्थित बनाउने विषयले पनि छलफलमा स्थान पाएको थियो। सांसदहरूको राजनीतिक दलगत प्रतिनिधित्व, आफ्नै खर्चमा सम्मेलनमा सहभागी हुन चाहने सांसदका लागि आवश्यक प्रक्रिया तथा सहभागितासम्बन्धी प्रतिबद्धताका मापदण्ड निर्धारण गर्ने विषयमा मन्त्री चौधरी र सभामुख अर्यालबीच कुराकानी भएको हो।

यसैगरी, कोप–३१ अघि नै नेपालमा राष्ट्रिय जलवायु शिखर सम्मेलन आयोजना गर्ने र त्यस अवसरमा नेपालको पर्वतीय रणनीति ‘लिभिङ सगरमाथा’ सार्वजनिक गर्ने तयारी पनि सरकारले अघि बढाएको छ।

कोप–३१ का लागि नेपालको आधिकारिक अडानपत्र तयार गरी सार्वजनिक गर्ने विषयमा समेत छलफल भएको छ।

अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको छुट्टै ‘पेभिलियन’ सञ्चालन गर्ने, जलवायु परिवर्तन तथा पर्वतीय क्षेत्रसँग सम्बन्धित साइड इभेन्ट आयोजना गर्ने र नेपालले जलवायु अनुकूलनका क्षेत्रमा गरिरहेका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने तयारीलाई तीव्रता दिने निष्कर्ष पनि छलफलमा निकालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *