१४ भदौ, काठमाडौं — भारतले नेपालका बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि थप सहयोग पठाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत विदेशमन्त्री जयशंकरले नेपालको राहत तथा उद्धार प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतीय वायुसेनाको सी–१३० विमानमार्फत विपद् व्यवस्थापन तथा खोजी–उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ (टनेल) प्राविधिक टोली नेपाल आइपुगेको छ ।
त्यस्तै, डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आएको छ ।
दूतावासका अनुसार ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, सरसफाइका सामग्रीलगायत राहत सामग्री पनि नेपाल आइपुगेका छन् । यो भारतले नेपाल पठाएको चौथो खेपको सहायता हो ।
बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेपछि यातायात सञ्चालनमा सहयोग पुर्याउन भारतले संरचनागत सामग्रीसमेत पठाएको छ ।
विदेशमन्त्री जयशंकरका अनुसार २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ प्रस्थान गरिसकेका छन् ।
यसका साथै थप ७ वटा बेली ब्रिजका उपकरण र ती जडान गर्ने प्राविधिक टोली पनि छिट्टै नेपाल आइपुग्ने उनले बताएका छन् ।
भारतले बाढीपहिरो प्रभावितका लागि हालसम्म कुल ६८.५ टन राहत सामग्री हवाई मार्गबाट काठमाडौं ल्याइसकेको जनाएको छ ।
यसअघि पठाइएका राहत सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानाका प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा अन्य प्राविधिक उपकरण समावेश रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।