Skip to main content

Epost Nepal

३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गएर अवरुद्ध सडक मध्ये ७ सय ७४ स्थानमा यातायात सुचारु, क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने

१७ असोज, काठमाडौं – असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी  दिएको छ  ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध सडक मध्ये ७ सय ७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्रउपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको जानकारी दिए ।

हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको सचिव शर्माले बताए । हालसम्मको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको उनले जानकारी दिए ।

त्यस्तै, क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको शर्माको भनाई छ ।

सचिव शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ किलोमिटर, विपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ किलोमिटर, मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० किलोमिटर, कान्ति राजपथ घपेली–बगुवा सडक खण्ड १३ किलोमिटर र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ किलोमिटर हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिए ।

क्षति भएका पुलहरूमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, विपी राजमार्गको सुनकोशी, खैरेनीटार, विपी राजमार्गको सुनकोशी, खुर्कोट, बिपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति लोकपथको वागमती पुल, माईपोखरी–सन्दकपुर इलामको रातेखोला पुल र कान्ति राजपथको वागमती पुल रहेको सचिव शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *