Skip to main content

Epost Nepal

अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित निकायहरूलाई गृहमन्त्रीको निर्देशन

१६ असोज, काठमाडौं – गृहमन्त्री रमेश लेखकले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमा यातायात सहजरुपमा सञ्चालन गर्ने विषयमा यातायात व्यवसायीहरुसँग छलफलपछि गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्री लेखकले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्‌बाट अवरुद्ध राजमार्ग/सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गरेका थिए ।

विपद्‌मा अवरुद्ध सडक सञ्चालन गरी चाडवाडका बेला यातायात सहज र सुरक्षितरुपमा सञ्चालन गर्न यातायात व्यवसायी, यातायात मजदुर सङ्घ/संगठनका पदाधीकारीबीच सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

‘विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ,’उनले भने, ‘बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।’

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । ‘अवरुद्ध यातायात सञ्चालनदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रा लगायतका विषयमा छलफल भयो,’ उनले भने, ‘हामीले सवारीसाधन जाँच गर्ने लगायतका विषयमा पनि छलफल गरेका छौँ ।’

सो अवसरमा मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी सक्रिय रहेको बताए ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *