१५ असोज, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको पूर्वतयारीभन्दा भिन्नरूपले परिस्थितिको सामना गर्नुपरेको बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमिकमजोरी भएको हुनसक्ने उल्लेख गर्दै आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे ।
ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका छन् । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताए ।
‘यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ ‘प्रधानमन्त्री ओलीले भने,’कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।’
ओलीले तत्काल उद्धार र पुनःस्थापनासहितको राहत दिएर भौतिक संरचनाको पुनर्निर्माण गरिने बताए । उनले बगाएका पुलमा तत्काल बेलब्रिज हाल्ने र नबग्नेगरी पक्की पुलको निर्माण गर्ने प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले किसान र बगेका घरधनीलाई पनि राहत उपलब्ध गराउने बताए ।



