१५ साउन, काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबारको बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ । जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस् । यो जनतामा जाने सुवर्ण अवसर पनि हो,’ उनले भने ।
प्रवक्ता सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए । ‘बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चामा विस्तार गर्दै लैजान्छौँ । कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित हुन्छ,’ उनको भनाइ छ ।
उनले संसद्मा प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको पनि बताए । जनताका जल्दा बल्दा समस्याहरु र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारविरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने निर्णय पनि माओवादी बैठकले गरेको छ ।
उनले भने, ‘ प्रमुख प्रतिपक्षको भूमिकामा पनि हामी छौँ । प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम छ र कम भए पनि गुणात्मक बनाउने, देश र जनताका जल्दाबल्दा समस्याहरु र पहिला हाम्रो सरकारले सुरु गरेका सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र ति भ्रष्टाचारबिरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको छ ।’



