Skip to main content

Epost Nepal

साइबर ब्यूरोले खोज्दैछ, सत्तासँग डराइन्न : सहमहामन्त्री शिवाकोटी

१९ कात्तिक, काठमाडौं — नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट आफू विचलित नहुने बताएका छन्।

उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भनेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’

शिवाकोटीले पारिवारिक भ्रमणका क्रममा आफू केही दिनदेखि भारतमा रहेको र साइबर ब्यूरोले आफूलाई बोलाएको जानकारी पाएपछि नेपाल फर्किरहेको बताएका छन्।

उनले भने, ‘म पारिवारिक भ्रमणका क्रममा भारतमा थिएँ। मेरा दोलखाका एक साथीमार्फत् मलाई साइबर ब्यूरोले बोलाएको भन्ने जानकारी पाएपछि नेपाल फर्कँदैछु। अहिले झापा आइपुगेँ, अब जहाजमार्फत काठमाडौं आउँछु।’

नेपाली कांग्रेसले भने धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्यूरोमा बोलाइएको जानकारी गराएको जनाएको छ।

शिवाकोटीले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमार्फत सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा कांग्रेसलाई अनावश्यक विवादमा फसाउने प्रयास गरेको आरोप लगाउँदै प्रतिक्रिया दिँदै आएका थिए।

यता, साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले सहमहामन्त्री शिवाकोटीलाई बोलाइएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।

उनले भने, ‘यसबारेमा मलाई जानकारी छैन। कुन शाखाले दियो, कहाँबाट दियो, मैले पनि बुझ्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *