२२ भदौ, काठमाडौं — बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार (ब्रोडकास्ट राइट्स) हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँ अर्थात् १७.२४ करोड रुपैयाँको बोली लगाउँदै प्रतियोगिताको प्रसारण अधिकार सुरक्षित गरेको हो।
कम्पनीले सोमबार जारी गरेको आधिकारिक विज्ञप्तिमा एनपीएलको प्रसारण अधिकार प्राप्त गर्नु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ। विज्ञप्तिअनुसार हिमालय स्पोर्ट्सले कबोल गरेको रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी रहेको छ। यो रकम यस वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा पनि झण्डै साढे दुई गुणा बढी हो।
‘एनपीएल यति ठूलो स्तरको लगानीको हकदार छ भन्ने हाम्रो दृढ विश्वास हो। नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगितालाई यस क्षेत्रकै अग्रणी खेलकुद ‘प्रोपर्टी’ का रूपमा उचाइ दिनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ,’ हिमालय स्पोर्ट्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
एनपीएलको बढ्दो मूल्यले खेलकुद संघले व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा हासिल गर्न सकिने सम्भावनाको स्पष्ट उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाइ छ। यस्तो आर्थिक वृद्धिले समग्र क्रिकेट इकोसिस्टमलाई थप बलियो बनाउने, आवश्यक स्रोतसाधन जुटाउन सहयोग गर्ने र खेलको विकासका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास पनि कम्पनीले लिएको छ।
हिमालय स्पोर्ट्सका लागि यो केवल प्रसारण अधिकार खरिद मात्र नभई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धता भएको कम्पनीले जनाएको छ। एनपीएललाई गुणस्तरीय प्रस्तुति र फराकिलो पहुँचका साथ दर्शकमाझ पुर्याउने पनि कम्पनीको भनाइ छ।