१७ भदौ, काठमाडौं — विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा ६० किलो गाँजा बरामद गरेको छ।
विराटनगर महानगरपालिका–१६, दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपालको बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति गाँजा बरामद गरेको हो।
राति करिब ११ बजे ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेका थिए।
तर, सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए। त्यसपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको भ्यान र गाँजा आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।