१५ भदौ, काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएका व्यक्तिको यकिन संख्या अझै पत्ता लाग्न नसकेको जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले बाढीमा बेपत्ता भएका व्यक्तिको वास्तविक संख्या निर्धारण गर्न कठिन भइरहेको बताइन्। उनका अनुसार स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन भइरहेको छ।
सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन्। तर खोज तथा उद्धार कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्ने महतले बताइन्।
‘हामीलाई अहिले मिसिङको संख्या कति हो भनेर एक्ज्याक्ट पत्ता लगाउन अलिकति अप्ठ्यारो नै छ । हामीले त्यहाँको स्थानीय पालिका, सिडियो कार्यालयदेखि लिएर त्यहाँ हराउनुभएको विभिन्न आधिकारिक निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय निकुञ्ज, हाइड्रोबाट संख्याहरू लिने गरेका छौँ । त्यसमा हामीले करिब भन्ने गरेका छौं किनभने मिसिङको संख्या अझै हामीलाई एक्ज्याक्ट थाहा छैन,’ उनले भनिन्।
यसैबीच, विभिन्न हाइड्रोपावर आयोजना तथा सुरुङमा उद्धार कार्य जारी छ। महतका अनुसार हाइड्रोका सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ। आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो। सोमबार पनि उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन्।
लाङटाङ हाइड्रोमा भएको क्षतिबारे भने अहिलेसम्म छुट्टै विवरण प्राप्त नभएको महतले बताइन्।
‘व्यक्तिहरूको खोजी भइराखेको छ । केही अझै थप हुनुहोला र कति मिसिङ भएको छ, त्यो मिसिङमध्ये यति नै एक्ज्याक्ट मिसिङ हो भने हामीलाई अलिकति भन्न गाह्रो नै छ । हामीले भएसम्म अपडेट गर्ने कोशिस गरिराखेका छौं,’ उनले भनिन्।
हालसम्म रसुवा बाढीमा परी ज्यान गुमाएका ९०३ जनाको शव फेला परेको छ। १० हजारभन्दा बढीको उद्धार गरिएको छ भने २६७ जना घाइते उपचारपछि घर फर्किएका छन्। सम्पर्कविहीन व्यक्तिको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ।
विपद्का कारण अवरुद्ध सडक तथा सञ्चार सेवा पनि अधिकांश क्षेत्रमा सुचारु भइसकेको प्राधिकरणले जनाएको छ। प्रवक्ता महतका अनुसार वैकल्पिक मार्ग पहिचान गरी सडक आवागमन सहज बनाइएको छ।
विपद् व्यवस्थापनका लागि प्राधिकरणले करिब १४ वटा छुट्टाछुट्टै कार्यदल गठन गरेर परिचालन गरेको छ। उद्धार, राहत, हेलिकोप्टर व्यवस्थापन, शव व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वयका लागि छुट्टाछुट्टै कार्यदल बनाएर बिहीवारदेखि नै काम अघि बढाइएको महतले जानकारी दिइन्।