१५ भदौ, काठमाडौं — भारतका रक्षामन्त्री राजनाथ सिंह नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेका छन्। उनले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्।
भदौ १० गते आएको बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिक पनि प्रभावित भएको उल्लेख गरेका छन्।
आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समार्फत उनले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाल र भारतबीचको सम्बन्धलाई स्मरण गर्दै रक्षामन्त्री सिंहले भारत सधैं नेपालको ‘सुख दुःखको साथी’ रहेको बताएका छन्।
‘एक निकट मित्र र साझेदारका रूपमा भारत सधैं नेपालको साथमा उभिएको छ,’ उनले भनेका छन्, ‘यस कठिन घडीमा पनि हामी हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौं र नेपालको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासहरूमा सहयोग गर्न पूर्ण रूपले प्रतिबद्ध छौं।’