१४ भदौ, काठमाडौं — चीन सरकारले नेपालका बाढीपहिरो प्रभावितका लागि ५० टन आपत्कालीन राहत सामग्री पठाएको छ ।
आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुई वटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन् ।
दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा राहत सामग्री हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसी उपस्थित थिए । सो अवसरमा उनीहरूले नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञलाई स्वागत गरेका थिए ।
चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती दुई विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन् । विमानमा कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ ।
विपद् प्रभावितका लागि ल्याइएका सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड/बिस्कुट तथा प्राथमिक उपचार किट रहेका छन् ।
नेपाल–चीन सीमा क्षेत्रसहित देशका विभिन्न भागमा आएको विनाशकारी बाढीपहिरोपछि प्रतिकार्यमा सहयोग पुर्याउन चीनले आपत्कालीन राहत सामग्री र विशेषज्ञ टोली नेपाल पठाएको हो ।