१३ भदौ, काठमाडौं – नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै बन्ने दाहालको अभिव्यक्तिप्रति बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले आपत्ति जनाएको हो ।
विश्वका विभिन्न घटनालाई नेपालसँग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन एमालेले माओवादीलाई ध्यानाकर्षणसमेत गराएको छ ।
दाहालले गत मंगलबार संसदमा नेपाल बंगलादेश र श्रीलंकाजस्तै बन्नसक्ने चेतावनी दिएका थिए । त्यतिमात्र होइन, माओवादीको जारी परामर्श बैठकमा पनि दाहालले यस अभिव्यक्तिलाई दोहोर्याउँदै आएका छन् ।
एमाले सचिवालय बैठकले संसदका कतिपय दलहरू खासगरी सत्ताबाट बाहिरिको माओवादीले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर दिएको आवेगपूर्ण टिप्पणी र प्रतिक्रिया गैरजिम्मेवार रहेको बताएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्यस्ता आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय भएको बताए ।
उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति देखा पर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले-कांग्रेस सरकारको संक्षिप्त समीक्षा गर्दै सरकारको प्रारम्भिक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए ।
त्यस्तै बैठकले पार्टीको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदा तयारीमा सामान्य छलफल गर्दै आगामी पोलिटव्युरो बैठकबाट अन्तिम रूप दिने निर्णय भएको उनले बताए । नयाँ वार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउने लगायतका विषयमा समेटिएको ज्ञवालीले बताए ।



