२३ भदौ, काठमाडौं — ६ जना नागरिक फसेको २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा विदेशी उद्धारकर्मीसहितको टोलीले उद्धार कार्य जारी राखेको छ।
चिलिमे जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार भौगोलिक अवस्था, स्थान र मौसमका कारण उद्धार कार्यमा निकै कठिनाइ भइरहेको छ।
उद्धार कार्यमा सहभागी अर्का एक अधिकारीका अनुसार सुरुङ रहेको स्थानसम्म पुग्न र त्यहाँबाट फर्किन नै समस्या हुने भएकाले उद्धार कार्यलाई छिटो अघि बढाउन कठिनाइ भइरहेको छ।
आयोजनामा ६ जना नागरिक फसेको बताइएको छ। त्यहाँ रहेका ७१ जना भने सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका थिए।
“११ बजेभन्दा अघि जान सकिँदैन, २ बजे निस्कनुपर्ने अवस्था छ,” आयोजनाका प्रबन्ध निर्देशक महर्जनले भने, “भारतीय आर्मीको फोर्स छ। ३५ जनाको रेस्क्यु टोली खटिएको छ। नेपाल आर्मीको धुन्चेबाट खटाइएको टोली पनि छ।”
उनका अनुसार २५० मिटर लामो सुरुङमा उद्धार टोली अहिलेसम्म करिब १३० मिटरभित्र प्रवेश गरिसकेको छ।
“खाली हुँदै गएको हुनाले छिटो पुगिन्छ कि भन्ने अनुमान छ,” उनले भने, “टनेल भरिएको रहेछ भने झनै समस्या हुन सक्छ। स्लोप भिरालो हुँदै गएकाले सहज हुन्छ कि भन्ने अनुमान छ। यो सबै काम सक्न तीन–चार दिनमा अपरेशन क्लोज हुन सक्छ।”