Skip to main content

Epost Nepal

अर्थतन्त्र सुधारका लागि सरकारलाई सहयोग गर्न तयार छौँ : गगन थापा

१५ कात्तिक, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न नसकेको टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्षी दलका तर्फबाट सरकारप्रति धारणा सार्वजनिक गर्दै थापाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित हुन नसकेको बताएका हुन्। उनका अनुसार सरकारको प्राथमिकता अर्थतन्त्र सुधारभन्दा अन्य विषयमा बढी देखिएको छ।

‘अहिले हाम्रो अर्थतन्त्र ठीक छैन। फागुन अगाडि ठीक थियो म भन्दिनँ, ठीक थिएन। प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा छ। यस्तो बेलामा फोकस अर्थतन्त्रमा हुनुपर्ने होइन ?’ उनले भने, ‘यी सबैको कारण विश्वासको संकट हो। सरकारको नीति यस्तो छैन। सबै त्रसित छन्—कर्मचारी त्रसित छन्, व्यवसायी त्रसित छन्। अहिले प्रहरीको हालत हेर्नुस् त, संवैधानिक निकायको हालत हेर्नुस् त।’

थापाले शिथिल अर्थतन्त्र सुधारका लागि सरकारले सहयोग मागे आफूहरू सहयोग गर्न तयार रहेको पनि बताए।

‘शिथिल भएको इकोनोमीलाई तर्साएर होइन, भरोसा र विश्वास दिएर सुधार गर्नुपर्ने हो। अहिले गन्जागोल बनाइदिएर कहीँ कतै केही गर्न सक्ने अवस्था छैन,’ उनले सरकारलाई भने, ‘यस्तो अपोजिसन पाउनुभएको छ—बिल पास गर्न चाहनुभएको छ भने अध्यादेश ल्याउनै पर्दैन। राष्ट्रिय सभामा हामी ठूलो दल हौँ। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी हौँ। अर्थतन्त्र सुधारको काम गरौँ भन्नुहोस्, हामी सहयोग गर्न तयार छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *