२४ भदौ, काठमाडौं — कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित मोदी खोलाको सहायक किम्रुङ खोलाको बहाव आज बिहानदेखि पुनः पुरानै अवस्थामा फर्किएको छ।
मंगलबार साँझ खोलाको बहाव घटेपछि कतै खोला थुनिएको हुन सक्ने आशंकामा गएराति उच्च सतर्कता अपनाइएको थियो।
अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले अहिले खोलाको बहाव पूर्ववत् रूपमा बगिरहेको र तत्काल कुनै जोखिम नरहेको जानकारी दिएका छन्।
‘हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिरोका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो। हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल गरेका थियौँ। कतै पहिरो गएको कारणले हो कि भनेर माथिल्लो क्षेत्रमा बुझ्न भनेका छौँ। तर अहिले खोलामा पानी पहिलाकै अवस्थामा बगेकाले जोखिम देखिँदैन। सबै जना ढुक्क भए हुन्छ,’ अध्यक्ष गुरुङले भने।
खोला थुनिएको हुन सक्ने सूचनापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै मोदी र किम्रुङ खोलाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो।
जिल्ला प्रहरी कार्यालयले कास्कीका वीरेठाँटी र नयाँपुल तथा पर्वतका पातीचौर र डिमुवा क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको थियो। सम्भावित जोखिमका कारण स्थानीयवासी राति घर छाडेर सुरक्षित स्थानमा समेत गएका थिए।
खोला थुनिएको हुन सक्ने सूचना आएपछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको थियो। घान्द्रुक, वीरेठाँटी र नयाँपुलबाट समेत प्रहरी परिचालन गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
किम्रुङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो। उक्त बाढीले पुल बगाउनुका साथै होटलहरूमा समेत क्षति पुर्याएको थियो।
त्यसपछि मोदी खोलामा आएको बाढीका कारण अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट सिधै विच्छेद भएका छन्। वीरेठाँटी–घान्द्रुक सडक तीन सातादेखि अवरुद्ध रहेकाले हाल वीरेठाँटी क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको छ।