३० असार, काठमाडौं — भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सहसचिवसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिवस्तरका एक कर्मचारीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जनाएको हो।
मन्त्रालयका अनुसार ती कर्मचारीलाई विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेको छैन। साथै, उनको तर्फबाट कुनै जानकारीसमेत प्राप्त नभएको बताइएको छ। उनी २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित रहेका छन्।
निजामती सेवा ऐन, २०४९ अनुसार यस्तो अवस्थामा सरकारी सेवाबाट हटाउने प्रक्रिया अघि बढाउन सकिने व्यवस्था रहेकाले सम्बन्धित कर्मचारीलाई १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित आफ्नो सफाइ पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले कार्यालयमा अनुपस्थित रहेका, विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन कर्मचारीहरूको अवस्था अध्ययन र खोजी कार्यलाई समेत तीव्र बनाइएको जनाएको छ।