Skip to main content

Epost Nepal

तथ्य र प्रमाणमुखी अनुसन्धान एवं अभियोजनबाट मात्रै फौजदारी न्याय प्रशासन प्रभावकारी हुन्छ: प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत

११ कात्तिक, काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले तथ्य र प्रमाणमुखी अनुसन्धान एवं अभियोजनबाट मात्रै फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपायहरू’ विषयक एकदिने गोष्ठीको आइतबार उद्घाटन गर्दै प्रधानन्यायाधीश राउतले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन अपराधको अनुसन्धान बयानमुखी भन्दा प्रमाणमुखी हुन आवश्यक रहेको बताएका हुन् ।

त्यसका लागि फौजदारी न्याय प्रणालीसँग सम्बन्धित पक्षहरू अनुसन्धान गर्ने संस्था (प्रहरी), अभियोजनकर्ता (सरकारी वकिल) र न्याय निरूपण गर्ने संस्था (अदालत)बीच निरन्तर संवाद र समन्वय पनि आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइ छ ।

‘वस्तुनिष्ट प्रमाणका आधारमा अनुसन्धान, कानुन र तथ्यको संयोजनमा आधारित अभियोजन एवं गुणात्मक बहस र साक्षी/प्रमाण र परीक्षणमा देखाइने व्यावसायिकताबाट फौजदारी न्याय प्रशासनलाई सबल, सक्षम, सुदृढ बनाउन जरुरी छ,’ राउतले भने, ‘यसका साथै संलग्न निकायहरूबीचमा निरन्तर संवाद र समन्वय हुन आवश्यक छ ।’

अनुसन्धानलाई बयानमुखीभन्दा सबुद प्रमाणमुखी बनाउन सके अपराधकर्म तथ्य र प्रमाणबाट स्थापित हुने र दोषीले सजाय पाउने अवस्थाबाट समाजमा दण्डहीनताको संस्कृति अन्त्य हुने आफ्नो विश्वास रहेको उनले बताए । ‘अनुसन्धान र अभियोजनको निष्पक्षतामै समग्र फौजदारी न्याय प्रशासनको प्रभावकारितामा अभिवृद्धि हुने कुरामा म विश्वस्त छु,’ उनले भने ।

फौजदारी न्याय प्रणालीलाई गतिशील र प्रभावकारी एवं विश्वसनीय बनाइ पीडितको पुनःस्थापना र अभियुक्तको स्वच्छ सुनुवाइ गरी विश्वास अभिवृद्धि गर्न न्यायपालिका, महान्यायाधिवक्ताको कार्यालय एवं नेपाल प्रहरीको भूमिका रहने भन्दै तीनवटै निकायको संलग्नतामा हुने अन्तर्क्रियाले समग्र फौजदारी न्याय प्रशासनको प्रवर्द्धन एवं सुदृढीकरणमा समेत थप योगदान एवं दण्डहीनताको अन्त्य गर्न सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *