२४ भदौ, काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको भदौ २४ गते मुलुकभर भएको विध्वंसमा संलग्न व्यक्तिमाथि एक वर्ष बितिसक्दा पनि कारबाही नभएको बताएका छन्।
भदौ २४ गतेको घटनाको स्मरणमा भिडियो सन्देश जारी गर्दै प्रचण्डले केही घण्टामै भएको विध्वंस रहस्यमयी रहेको र यस विषयमा गहिरो अनुसन्धान आवश्यक रहेको बताएका हुन्।
‘यसले के माग गर्छ भने गहिरो अध्ययन–अनुसन्धान गरेर यो विध्वंस मच्चाउने तत्व को हुन्? वास्तविक दोषी को छन्? यसको सत्य–तथ्य अनुसन्धान गर्ने कुरा र दोषीलाई कारबाही गर्ने कुरा असाध्यै महत्वपूर्ण ठान्दछु,’ उनले भने।
तर, गएको एक वर्षमा यस विषयमा आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढेको नदेखिएको उनको भनाइ छ।
‘मानव अधिकार आयोगद्वारा तयार पारिएको प्रतिवेदन पनि कार्यान्वयनतिर अगाडि बढेको छैन, बरु दराजमा थन्क्याउने काम भएको छ,’ उनले भने।
प्रचण्डले भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताको माग उठाएको उल्लेख गर्दै ती युवाहरूको प्रतिनिधित्व भदौ २४ गतेको घटनामा नरहेको बताए।
‘भदौ २३ का ती भावना र आकांक्षालाई होइन, बरु जेन–जी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गर्न र २३ को आन्दोलनलाई अपहरण गर्ने र त्यसलाई कब्जा गर्नेहरूकै हालिमुहाली भएको देखिन्छ,’ उनले भनेका छन्।
त्यस्तो घटनाको अनुसन्धान र दोषीमाथि कारबाही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै दृष्टिले महत्वपूर्ण रहेको पनि उनले बताएका छन्।
‘अन्तर्राष्ट्रिय स्तरबाट पनि आजको भूराजनीतिको सन्दर्भमा पनि यसको अध्ययन–अनुसन्धान हुन जरुरी छ। नेपालको राष्ट्रिय आयामका दृष्टिले पनि हाम्रा सुरक्षा निकायहरूको भूमिकादेखि राजनीतिक नेतृत्वको भूमिकासम्म सबैको बारेमा अझ गहिरो अध्ययन र अनुसन्धान गर्न जरुरी छ,’ उनले भनेका छन्।