२३ भदौ, काठमाडौं — बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप र आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनलाई तीव्रता दिएको छ।
मन्त्रालयले मंगलबार नुवाकोटका लागि हैजाविरुद्धको ८० हजार ५ सय २३ डोज खोप अर्थात् २३ बक्स पठाएको छ। साथै १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पनि पठाइएको छ।
रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पठाइसकिएको छ। त्यहाँ बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।
बाढीका कारण खानेपानी र सरसफाइ प्रणाली प्रभावित भएपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकता दिँदै खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।