Skip to main content

Epost Nepal

एमालेको ११औँ महाधिवेशनको बन्द सत्र आज, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

२८ मंसिर, काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र आज अपरान्हदेखि सुरु हुने भएको छ। बिहानैदेखि सुरु गर्ने तयारी गरिएको बन्द सत्र समय सर्दै अन्ततः दिउँसो १ बजेका लागि तय गरिएको हो।

महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गरिएको भए पनि बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। बन्द सत्र सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। यो बैठक वर्तमान कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठक हो।

केन्द्रीय कमिटीको बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक अवस्था तथा बन्द सत्रका कार्यक्रमबारे छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। बैठकपछि बन्द सत्र सुरु हुने कार्यक्रम छ।

बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदन भदौमा सम्पन्न विधान अधिवेशनमा पारित दस्तावेजलाई आधार मानी जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति समेटेर तयार गरिएको हो।

राजनीतिक प्रतिवेदन पेस भएपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बन्द सत्रको अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया सुरु गर्न अनुमति दिनेछ। पदाधिकारीहरू सबै अध्यक्ष मण्डल रहने व्यवस्था गरिएको छ।

निर्वाचन प्रक्रिया सुरु भएपछि उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका चरण अघि बढ्ने छन्।

बन्द सत्र केही समय सरे पनि प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डपमा उपस्थित भएका छन्। प्रतिनिधिहरूले आवश्यक दस्तावेजहरू प्राप्त गर्ने तथा छलफलमा जुटिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *