Skip to main content

Epost Nepal

नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको छ: प्रधानमन्त्री केपी शर्मा ओली

२० पुस, सोलुखुम्बु – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च तापमानका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने समस्या बढ्दै गएको भन्दै यसले जलवायु परिवर्तनको गम्भीर असरलाई उजागर गरेको बताएका छन् ।

लुक्लामुनि सुर्केसम्म पुगेको ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले हिमाली क्षेत्र र त्यहाँ बसोबास गर्ने समुदायमा गहिरो प्रभाव पारेको उल्लेख गरे। उनले यस संवेदनशील विषयमा आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाएको र जलवायु न्यायको माग गरेको जानकारी गराए।

प्रधानमन्त्रीले नेपाल जस्तो देशले जलवायु परिवर्तनमा न्यून योगदान पुर्याएको भए पनि यसले सबभन्दा ठूलो असर भोग्नुपरेको बताउँदै जलवायु न्यायका लागि सबै राष्ट्रहरूको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।

नेपालले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्नका लागि आवश्यक योजना र नीतिहरूलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने आफ्नो प्रतिवद्धता व्यक्त गरे।

उनले विश्वको सर्वोच्च शिखर रहेको खुम्बु क्षेत्र विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएको भन्दै यस क्षेत्रको विकासमा नेपाल सरकार लागि पर्ने बताए। उनले खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र चौंरीखर्कसम्म कालोपत्र सडक निर्माण गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा भौतिक योजनामन्त्री देवेन्द्र दाहालले खुम्बु क्षेत्रको पर्यटन सडकलाई कालोपत्र गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने आश्वासन दिए।

रक्षामन्त्री मानवीर राईले जलविद्युत् र पर्यटनकमा प्रचूर संभावना बोकेको सोलुखुम्बुको सर्वांगीण विकासमा वर्तमान सरकार लागि परेको बताए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यो पर्यटन सडक नेपालको होचो स्थान केचनाकवललाई विश्वको उच्च स्थानमा जोड्न उपयोगी हुने भन्दै पूर्वाधार विकासमा प्रदेश सरकारले ठोस योजना अगाडि सार्ने प्रतिबद्धता व्यक्त गरे।

समाहरोहमा बोल्दै कोशी प्रदेशसभा तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुलाई बजेट र कार्यक्रम दिने कुरामा संघीय सरकारले उपेक्षा गरेको गुनासो पोखे।

पालिका अध्यक्ष मिङ्माछिरि शेर्पाले सुर्केसम्मको सडक उद्घाटन भएसँगै हवाई मार्गको विकल्पको रुपमा पर्यटकले सडक उपयोग गर्न पाउने बताए। उनले पालिका केन्द्र चौरीखर्कसम्म सडकको ट्र्याक पुर्‍याउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *