२६ भदौ, काठमाडौं — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा पहिरो खसेपछि कृत्रिम ताल बनेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार शुक्रबार बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसभन्दा करिब १०० मिटर तल पर्ने हुंगा खोलामा पहिरो खसेको हो।
पहिरो खसेपछि खोलामा पानी जमेर १०० मिटरभन्दा लामो ताल बनेको उनले जानकारी दिए। तालको गहिराइ भने यकिन हुन सकेको छैन। प्रारम्भिक अनुमानमा गहिराइ ४० देखि ५० मिटरसम्म हुन सक्ने बताइएको छ।
उनका अनुसार पहिरो एकपटक खसेपछि अहिले रोकिएको छ। उक्त क्षेत्र सदरमुकामबाट निकै टाढा रहेकाले नदी तटीय क्षेत्र र आसपासका बस्तीमा सतर्कता अपनाउन भनिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बस्ती तथा गौरीशंकर हाइड्रोपावरको पावरहाउस, दूधकोसी हाइड्रोपावर नेपाल र सहास ऊर्जा लिमिटेडलाई जानकारी गराइएको छ। ती आयोजनामा रहेका कामदार र सवारीसाधनलाई सुरक्षित स्थानमा जानसमेत भनिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।
सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए।