Skip to main content

Epost Nepal

अध्यक्ष दाहालद्वारा राजनीतिक स्वच्छता र संवादका लागि जोड

२० पुस, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको जटिल परिस्थितिलाई समाधान गर्न सबैभन्दा पहिले राजनीतिक तहमा स्वच्छता कायम गर्न जरुरी रहेको बताएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको वर्तमान स्थिति गम्भीर र जटिल रहेको बताउँदै राजनीतिक नेतृत्वले स्वच्छता, निष्ठा, र राम्रो नियतसहित काम नगरे सबैतिर नकारात्मक असर पर्ने चेतावनी दिए।

“राजनीति सबै नीतिहरूको राजा हो। यदि राजनीति सफा भएन भने यसको प्रभाव हरेक क्षेत्रमा देखिन्छ,” दाहालले भने, “राजनीतिक तहमा देखिएको समस्याको समाधानका लागि हामीले संवाद र स्वच्छता कायम गर्नैपर्छ।”

उनले सत्ता र प्रतिपक्षबीच संवाद रोकिएको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस्तो संवाद निरन्तर चलिरहनु पर्नेमा जोड दिए। “सत्तापक्ष र प्रतिपक्षबीच संवादको स्थिति हुनु आवश्यक छ। प्रतिपक्षले सत्तामा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्न छोड्नुपर्छ,” उनले भने।

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री रहँदा सबै पुराना सेटिङ तोडेर विकास र सुधारका पहल गरेको स्मरण गरे।

साना तथा मझौला व्यवसायीहरूको समस्या समाधानका लागि उनले विभिन्न सुझाव प्रस्तुत गरे। व्यवसायीहरूलाई स्थानीय सरकारको सिफारिसमा बिनाधितो सहुलियत ऋण उपलब्ध गराउनुपर्ने, व्यवसाय दर्ता प्रणालीलाई एकद्वार प्रणालीमा लैजानुपर्ने, भन्सार दर समयानुकूल परिमार्जन गर्नुपर्ने, र वैज्ञानिक घर भाडा कर लागू गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै, खाता विवरणका आधारमा कर चुक्ता प्रमाणपत्र प्रदान गरेपछि पुनरावलोकन गर्न नहुने जस्ता व्यवसायी महासंघका मागलाई उनले समयसापेक्ष र उचित भन्दै समर्थन जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *