२२ असार, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णाली बस दुर्घटनाका बेला मन्त्रीको हेलिकप्टर उडिरहेको भए पनि उद्धारमा प्रयोग नभएको भन्दै संसदमा सरकारको आलोचना गरेका छन्।
असार १८ गते दैलेखस्थित कर्णाली नदीमा बस खस्दा पाँच जना बेपत्ता भएका थिए।
घटनामा कालीकोटका पाचलझरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरुवा भिरमा अड्किएको अवस्थामा मृत फेला परेका थिए। यस्तै, कैलालीमा एक महिला र एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। ती शव कर्णाली बस दुर्घटनामा बेपत्ता भएकाहरूको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाग्रस्त बस भने अझै फेला परेको छैन।
घटना भएकै समयमा ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ जगदुल्ला हाइड्रोपावरका विभिन्न संरचनाको उद्घाटनका लागि डोल्पामा रहेका थिए। सोही विषयलाई जोड्दै सांसद शाहीले प्रतिनिधिसभामा सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्।
शाहीले भने, “असार १८ गते कर्णाली नदीमा गाडी खस्यो। नदीको बीचमा मानिसहरू हारगुहार गरिरहेका थिए। एक जना मानिस भिरमा अड्किएर जीवनको भिख मागिरहेका थिए। उनीहरूको गुहारले नदी किनार थर्कियो। डाको लगाउँदा-लगाउँदै स्वर सुक्यो र त्यससँगै जीवन पनि समाप्त भयो। त्यही बेला आकाशमा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि होइन, मन्त्रीको सवारीका लागि थियो। केन्द्रीय मन्त्री हेलिकप्टरमा कर्णालीको आकाश घुमिरहेका थिए।”
उनले प्रदेशसभामा भागबन्डाको विषयमा विवाद भइरहेका बेला कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिन आग्रह गरिरहेको बताए।
“उद्धार टोलीसँग आवश्यक साधन थिएन। सुर्खेतबाट घटनास्थल पुग्न पाँच घण्टा लाग्यो। आकाशमा हेलिकप्टर उडिरहँदा पनि एउटा हेलिकप्टर उद्धारका लागि पठाउने क्षमता सरकारसँग भएन। त्यसपछि हामी कसका लागि काम गरिरहेका छौँ? भाषण किन गरिरहेका छौँ?” उनले प्रश्न गरे।
उनका अनुसार दुर्घटनापछि २४ घण्टासम्म पनि उद्धारका लागि हेलिकप्टर परिचालन भएन। प्रदेश सरकारले पनि २४ घण्टापछि मात्रै निर्णय गरेको भन्दै उनले भिरमा अड्किएका व्यक्तिलाई समयमै बचाउन नसकिएको बताए।
“सुरक्षाकर्मी घटनास्थलमा पुगे, तर उद्धार गर्न होइन, मुचुल्का उठाउन पुगे,” उनले भने।
शाहीले उक्त दुर्घटनामा आफ्ना आफन्त पनि गुमाएको उल्लेख गर्दै भावुक बने।
“मैले पनि आफन्त गुमाएको छु। मैले पनि परिवार गुमाएको छु। त्यसैले यो विषयमा बोल्दा मेरो मन टुक्रिन्छ, मेरो आत्मा रुन्छ,” उनले भने, “म दयाको भिख माग्न आएको होइन। सरकार र संसदसँग एउटा प्रश्न गर्न आएको हुँ। कर्णाली नेपालमा पर्छ कि पर्दैन? मन्त्री हेलिकप्टरमा सयर गरिरहँदा कर्णालीमा नागरिक डुबिरहेका थिए, उद्धार किन भएन?”
सरकारले विपद् व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने र उद्धारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार काम नभएको आरोप उनले लगाए।
“सरकारले यही संसदमा विपद् व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने र उद्धारलाई प्राथमिकता दिने भनेर ठूला कुरा गर्यो,” उनले भने, “तर मन्त्रीको हेलिकप्टर आकाशमा उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए।”



